Section 5D
कर्मचारी सम्बन्धी विशेष व्यवस्था

५घ.१ दफा ५क. बमोजिम करार भएकोमा त्यसरी करार हुँदाका बखत संस्थानमा कार्यरत कर्मचारीलाई करारमा उल्लिखित अवधिभरका लागि करारमा सेवा प्रणाली लिने संस्थाबाट पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने गरी संस्थानले त्यस्तो संस्थामा काजमा खटाउन सक्नेछ ।
तर त्यस्तो संस्थाले करार बमोजिम लिएको सेवा प्रणालीसँग सम्बद्ध संस्थानका कर्मचारी लिन नचाहेमा वा त्यस्ता कर्मचारीले सो संस्थामा काम गर्न नचाहेमा संस्थानले त्यस्ता कर्मचारीलाई संस्थानको अन्य काममा लगाउन वा निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम निजले पाउने सुविधामा नघट्ने गरी निजलाई तोकिएको मापदण्डको आधारमा तोकिए बमोजिम उपदान दिई सेवाबाट अवकाश दिन सक्नेछ ।

५घ.२ दफा ५ख. बमोजिम संस्थानको कुनै सेवा प्रणालीको स्वामित्व कुनै बोर्डलाई हस्तान्तरण भएकोमा त्यस्तो सेवा प्रणालीसँग सम्बद्ध संस्थानका कर्मचारीलाई त्यसरी सेवा प्रणाली हस्तान्तरण गरिलिने बोर्डमा रहने गरी आवश्यक व्यवस्था गर्न सकिनेछ ।
तर त्यस्ता कर्मचारीलाई सेवा प्रणाली हस्तान्तरण गरी लिने बोर्डले लिन नचाहेमा वा संस्थानका कर्मचारीले सो बोर्डमा काम गर्न नचाहेमा संस्थानले त्यस्ता कर्मचारीलाई संस्थानको अन्य काममा लगाउन वा निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम निजले पाउने सुविधामा नघट्ने गरी निजलाई तोकिएको मापदण्डको आधारमा तोकिए बमोजिमको सुविधा दिई सेवाबाट अवकाश दिन सक्नेछ ।

५घ.३ उपदफा ५घ.२ बमोजिम खटिएका कर्मचारीको सेवाका शर्त तोकिए बमोजिम हुनेछ ।
तर त्यसरी खटिएका कर्मचारीको पारिश्रमिक तथा सुविधा संस्थानले खटाउँदाका बखत उपलब्ध गराइरहेको पारिश्रमिक तथा सुविधाभन्दा कम हुने छैन ।